दाताहरूले सहयोग (दान) लाई ब्राह्मणवादबाट मुक्त गर्ने समय आएको छ

प्राची पाटणकर

5 December 2021

अघिल्लो दशकमा लोकोपकारी (फिलान्थ्रोपी) संस्थाहरू जातीय तथा आर्थिक न्याय हासिल गर्ने दिशामा रूपान्तरित हुँदै अगाडि बढ्न बाध्य भएका थिए । त्यसको जस अकुपाई वाल स्ट्रिट तथा ब्ल्याक लाइभ्स म्याटर जस्ता अभियानहरूलाई जान्छ जसको युवा, काला जाति, यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक व्यक्ति तथा मजदुर वर्गका व्यक्तिहरूले जातीय पुँजीवाद तथा शोषणयुक्त सम्पत्तिको संग्रह गर्ने प्रवृत्तिका बारेमा महत्त्वपूर्ण प्रश्नहरू उठाएर नेतृत्व गरेका थिए । केही प्रतिष्ठानहरूले आफ्ना कामहरूलाई गोरो सर्वोच्चतावाद (वाइट सुप्रेमेसी), दासप्रथा, तथा नयाँ ठाउँमा बस्ती बसाउने उपनिवेशवादका अवधारणाहरुको सन्दर्भमा पनि हेर्न सुरु गरेका छन् । अभियानमा सक्रिय रहेकाहरू प्रतिष्ठानहरूमा काम गर्न थालेपछि उनीहरूले लोकोपकारका अवधारणालाई औपनिवेशिक सोचबाट मुक्त गर्न आह्वान गरिरहेका छन् । 

लोकोपकारका (फिलान्थ्रोपीका) अभ्यासहरूलाई औपनिवेशिक सोचबाट मुक्त गर्ने आह्वान दक्षिणी मुलुकी (ग्लोबल साउथ) समुदायहरुलाई स्रोतहरू प्रदान गर्ने उत्तरी मुलुकमा (ग्लोबल नर्थ) रहेका प्रतिष्ठानहरूलाई विशेष रूपमा सान्दर्भिक हुन्छ किनकि उनीहरूको अनुदान कार्यहरूले प्राय: औपनिवेशिक तरिकालाई नै निरन्तरता दिइरहेको हुन्छ । प्रगतिशील दाताहरूले पनि यी पूर्वाग्रहहरू बोकेका हुन्छन् र गोरा जातिका व्यक्तिहरू वा बाह्मणहरू (दक्षिण एशियाको प्रभुत्वशाली जाति) वा अन्य प्रभुत्वशाली जातिहरूले नेतृत्व गरिरहेका गैर सरकारी संस्थाहरू (गैसस) लाई प्राथमिकतामा राख्छन् । औ‍पनिवेशिकीकरणबाट मुक्त गर्नुपर्ने विषयमा भएका परिवर्तनहरू स्वागतयोग्य तथा आवश्यक भए पनि त्यसमा गरिने शक्ति विश्लेषण संयुक्त राज्य अमेरिका केन्द्रित रहेको छ । विश्वव्यापी अनुदानकर्ताहरूको रूपमा हामीले शक्ति विश्लेषण गर्दा स्थानीय धर्म, जात, वा जातीय-श्रेष्ठ विचारहरूमा बनेका विषेश भौगोलिक तथा सांस्कृतिक शक्ति संरचनाहरूको आधारमा गर्नुपर्छ । ग्रामीण भारतमा हुर्किएको, जाति विरोधी, जातिभेद विरोधी तथा बहुजन (गैर प्रभुत्वशाली जातीय समुदायहरूलाई जनाउने एक साझा शब्द) जसले एशियामा अनुदानकार्यको नेतृत्व गरिरहेको व्यक्तिको हैसियतले मैले यस्तो अवस्थालाई प्रखर रूपमा अनुभूत गरेको छु । त्यही भएर औपनिवेशिक सोचबाट मुक्त गर्ने आह्वानमा आबद्ध हुँदै लोकोपकारलाई ब्राह्मणवाद मुक्त गर्न म चुनौती दिन्छु । 

ब्राह्मणवाद मुक्त गर्ने भनेर मैले के भन्न खोजेको हो ? ब्राह्मणवाद दक्षिण एशियामा हजारौँ वर्ष अगाडि प्रवर्तन भएको आध्यात्मिक विचार तथा दर्शन हो जुन हिन्दू धर्मको रूपमा चिनेको धार्मिक प्रणालीको प्रभुत्वशाली धार्मिक विचार बनेको छ । ब्राह्मणवादले एउटा जातिप्रथाको सिर्जना गर्‍यो जसले मानवहरूलाई जन्ममा पूर्वनिर्धारित पेशागत जातीय समूहहरूमा विभाजन गर्‍यो । उक्त जातिप्रथाको सोपानमा ब्राह्मणहरू सबभन्दा माथिको स्थानमा रहेका हुन्छन् । दलितहरू “सबभन्दा तल्लो” जात भएकाले ऐतिहासिक रूपमा सबभन्दा बढी शोषित समुहहरु हुन् र उनीहरूलाई सबभन्दा निकृष्ट जातिय पेशाहरूमा पारिएको छ । विविधताले धनी आदिवासी तथा दलित-बहुजनका आदिवासी आध्यात्मिक अभ्यासहरू, विश्वास तथा परम्पराहरुलाई ब्राह्मणवादले प्रायः हिंसात्मक रुपले संसोधन गरी अन्य संस्कृतिहरूलाई आफ्नोमा कब्जा गर्दै हिन्दू धर्मको आजको ब्राह्मणवादी रुप सिर्जना गर्यो। श्रमिक वर्गको वर्गीकृत विभाजनको जातीय व्यवस्थालाई अब व्यक्तिको आफ्नो जातिभित्र मात्रै विवाहबारी गर्ने प्रणाली मार्फत स्थापित गरिएको छ। शोषित जातिहरुको शक्तिका पदहरू, ज्ञान, जीविकोपार्जन, प्रेम तथा विवाह, भूमि तथा सार्वजनिक स्रोतहरूमा पहुँचलाई नियन्त्रण र सीमित गरी ब्राह्मणवादले उनीहरूको दमनलाई कायम राखेको छ।

औपनिवेशिक सोचबाट मुक्त गर्ने आह्वानमा आबद्ध हुँदै लोकोपकारलाई ब्राह्मणवाद मुक्त गर्न म चुनौती दिन्छु ।  

ग्रामीण भारतमा जातीप्रथाले शोषित व्यक्तिहरूले नेतृत्व गरेका ग्रामीण नारीवादी तथा कृषक/श्रमिकहरूको आन्दोलनहरूको बिचमा हुर्केकाले म अन्तरनिहित शक्ति संरचनाको बारेमा धेरै सचेत रहेको छु । प्रभुत्वशाली जातीय व्यक्तिहरूले नेतृत्व गरेका मूलप्रवाहका गैससहरूले दलित, यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक तथा महिला मुक्तिका सवाललाई संरक्षणवादी दृष्टिकोणले हेर्छन् न कि सामूहिक शक्ति निर्माणको दृष्टिकोणबाट । शक्ति तथा स्रोतहरुको पहुँचसँग नजिक भएका प्रभुत्वशाली जातीय समूहहरूले नेतृत्व गरेका शहरी गैससहरूलाई पश्चिमा दाताहरूले केन्द्रमा राख्छन् । जातिप्रथा तथा जातमा आधारित हिंसा र शोषणहरूको विरुद्धमा अभियान चलाउने तथा जमिन तथा जीविकोपार्जनका साधनहरूलाई हानि पुर्‍याउने आर्थिक सामाजिक नीतिहरूको प्रतिरोध गर्ने दलित बहुजनको नेतृत्व भएका समूहहरू तथा आदिवासी समूहहरू भन्दा प्रभुत्वशाली ती समूहहरू बढी स्रोत साधन सम्पन्न हुन्छन् । संयुक्त राज्य अमेरिकामा अधिकांश दक्षिण एशियालीहरू ब्राह्मण वा प्रभुत्वशाली जातीय समुदायका आएका छन्। उनीहरूले सन १९६० को दशकको मध्यतिर आफ्नो आप्रवासनको इतिहास पाउन सक्छन् जुन बेलामा संयुक्त राज्य अमेरिकामा भएको नागरिक अधिकारको आन्दोलनपछिको समयकालमा भर्खरै स्वतन्त्र भएका दक्षिण एशियाली मुलुकहरुका प्रभुत्वशाली जातीय समूहका शिक्षित पेशाकर्मीहरू आप्रवासी भएर संयुक्त राज्य अमेरिका पुगेका थिए । त्यहाँ उनीहरूले काला जातिले कडा संघर्षसँग लडेको स्वतन्त्रता आन्दोलनको उपलब्धिको रूपमा रहेको जातीय न्यायको लाभ लिन सक्षम भए । दक्षिण एशियाली अमेरिकीहरूको लोकोपकारी क्षेत्रमा हाल राम्रोसँग प्रतिनिधित्व भएको छ र त्यसमध्ये धेरै प्रभुत्वशाली जातीय पृष्ठभूमिबाट रहेका छन् । दक्षिण एसियाली कार्यक्रम अधिकृतहरू जसले आफ्नो जातीय विशेषाधिकारको लाभको बारेमा प्रतिबिम्बन गरेका छैनन् उनीहरूले दक्षिण एशियाली मानव अधिकार वा विकासका क्षेत्रमा जातीय श्रेष्ठताको संस्कृतिले कसरी प्रभावित पार्छ भन्ने कुरालाई प्राय: मिहिन ढंगले बुझेका हुँदैनन् । गैससको क्षेत्रमा रहेका शोषित जातीय समुदायहरु तथा भूइँतहका प्रतिरोधी आन्दोलनहरूको नेतृत्व गर्नेहरुका लागि ब्राह्मणवाद तथा जातीय श्रेष्ठताले सिर्जना गर्ने चुनौतीहरू दैनिक यथार्थ हुन् । 

आफ्ना अभ्यासहरूलाई ब्राह्मणवादबाट मुक्त गराउन,  आफ्ना काममा जातिवाद विरुद्धको विश्लेषण समावेश गर्न तथा दलित-बहुजन कर्मचारीहरुको विकास तथा नेतृत्वमा लगानी गर्न सुनिश्चित गराउन  अनुदान पाउने  साझेदारहरूसँग  काम गर्ने । 

जातीयता विरोधी राजनीतिलाई अंगीकार गर्नु तथा दलित-बहुजन समुदायसँग उभिनु हामी सबैको दायित्व हो । शक्तिका पदहरू, स्रोतहरू, ज्ञान तथा भाषामा शोषित जातीय समूहहरूको पहुँचलाई नियन्त्रण गर्न ब्राह्मणवादको प्रयोग गरिन्छ । दलित-बहुजन तथा आदिवासी समुदायका संस्कृति तथा अभ्यासहरूलाई आफ्नोमा सम्मिलित गर्न, कब्जा गर्न तथा मेटाउन पनि ब्राह्मणवादको प्रयोग गरिएको छ । ब्राह्मणवादबाट मुक्ति भनेको दलित-बहुजन नेतृत्वको साथसाथै सम्मान, जीविकोपार्जन तथा स्वतन्त्रताको लागि प्रस्टसँग लडिरहेका जातीयता विरोधी आन्दोलन, समूह र समूहहरूलाई सहयोग गर्ने अभ्यास हो । 

लोकोपकारलाई ब्राह्मणवादबाट मुक्त गर्ने प्रकृया सुरु गर्न केही स्पष्ट तरिकाहरु छन्: 

१. दक्षिण एशिया तथा संयुक्त राज्य अमेरिकामा भएको जातीय शोषण तथा जातीय प्रथा विरोधी आन्दोलनहरुको इतिहासको बारेमा सिक्ने । जातीय व्यवस्था ब्राह्मणवादले सिर्जना गरेको हो र त्यो ‘दलितहरूको समस्या’ होइन । दलित बहुजन समुदायका व्यक्तिहरूको नेतृत्वमा गरिएको जातप्रथा विरोधी प्रतिरोधको बेमिसाल इतिहासको बारेमा सिक्ने । इक्वालिटी ल्याब्सका तेनमोली साैंदराजनले हालसालै भनिन् कि एक दलित महिलाको हैसियतले उनले “लोकोपकारलाई हाम्रा मानिसहरू रहेका अवस्थाहरुको बारेमा सिक्षित बनाउँदै जातको बारेमा ऐतिहासिक पाठहरु दिनु परेको छ ।” तपाईंले दिने वित्तीय सहयोगले कसरी जातिप्रथालाई ध्वस्त पार्न सक्छ र त्यसले कायम राखेको शोषणयुक्त संरचनात्मक अवस्थाहरूलाई कसरी भत्काउन सक्छ भन्ने बारेमा राजनीतिक शिक्षामा संलग्न हुनुहोस् ।

२.  दक्षिण एशियामा रहेका जाति विरोधी तथा दलित बहुजनको नेतृत्वका आन्दोलनहरूलाई सहयोग गर्न स्रोतहरुको परिचालन गर्ने । ती आन्दोलनहरूले जमिनमा पहुँच र श्रम अधिकारहरूको लागि लड्दै, जातिय तथा लैंगिक हिंसामा अवरोध पुराउँदै जातीय विरोधी भविष्यहरूका लागि काम गरिरहेको छ  । न्याय र उत्तरदायित्वका लागि ऐतिहासिक रूपमा नेतृत्व गरेका दलितले नेतृत्व गरेका, जाति विरोधी र बहुजातीय आन्दोलनहरूको सहयोगलाई प्राथमिकता दिने। यी समूहहरू प्राय: साना हुन्छन्, गैससका रूपमा दर्ता भएका हुन्नन्, ग्रामीण समुदायमा आधारित हुन्छन् र जातीय लाभसँग आउने वित्तीय सहयोग संकलन गर्न सक्ने वा आफ्ना आवाजलाई संसारभर प्रतिनिधित्व गराउन सक्ने पहुँचको अभाव हुन्छ । दाताहरूले कास्ट इक्विटी फन्ड जस्ता सामूहिक कोषका पहलहरू तथा दलित-बहुजन आन्दोलनहरूसँग साँचो साझेदारीहरू विकास गरेका मध्यस्थकर्ताहरू मार्फत स्रोतहरु परिचालन गरेर साना साना प्रयासहरुलाई सहयोग गर्न सक्छन् ।

३. दलित-बहुजन समुदायले आफ्ना सांस्कृतिक स्वरूप तथा अभ्यासहरूलाई पुन: आफ्नो बनाउने पहलहरूलाई सहयोग गर्ने । दक्षिण एशियाली संस्कृतिलाई एउटा संस्कृतिको रूपमा मान्ने वा यस क्षेत्रलाई ‍औपनिवेशिक शाषक-पूर्व प्रजाहरूको दृष्टिकोणबाट मात्रै हेर्ने गर्नुको सट्टा ब्राह्मणवादबाट मुक्त गराउने भनेको जातिप्रथाले दबिएका समुदायहरूले ब्राह्मणहरूले बनाएको प्रभुत्वशाली आख्यानहरुको प्रभावलाई घटाउँदै आफ्नो आख्यानहरुलाई पुनः आफ्नो बनाउने पहलहरूलाई सहयोग गर्नु हो । दक्षिण एशियामा भएका कामहरूलाई सहयोग गरिरहेकाहरूले समाहित गर्ने, नियन्त्रण तथा शक्तिको संग्रह गर्ने ब्राह्मणवादी अभ्यासहरूलाई चुनौती दिनुपर्छ जुन गैसस तथा आर्थिक सहयोगसँग सम्बन्धित क्षेत्रहरूमा प्रकट हुन सक्छन् ।

४. अनुदानग्राही साझेदारहरूसँगको संलग्नताको लागि बहुभाषिक स्थानहरूको सिर्जना गर्ने‍ जसले गर्दा अंग्रेजी बोल्ने प्रभुत्वशाली जातिका कर्मचारी तथा संस्थाहरूलाई विशेषाधिकार नपाओस् ।  पश्चिमी दाताहरूको लागि प्रभुत्वशाली जातीय समूहका अंग्रेजी बोल्ने कर्मचारीहरू ‘सहजै सम्पर्क गर्न सकिने’ व्यक्ति ठानिने हुनाले उत्पीडित जातीय समूहहरू किनारामा पारिन्छन् । आफ्नो शक्ति तथा नियन्त्रणलाई कायम राख्न ब्राह्मणवादले उत्पीडित जातहरूलाई लिखित शब्दहरूको पहुँचबाट तथा ज्ञान सिर्जना हुने स्थानबाट बन्चित गर्यो । दाताहरूले भाषिक न्यायको अभ्यास गर्नुपर्छ, मनसाय प्रस्ट गर्नुपर्छ, र सम्बन्धित भाषाहरूमा दोभासे सेवा उपलब्ध गराउनुपर्छ जसले गर्दा तपाईंको संस्थाबाट सहयोग पाउने सबै साझेदार सदस्यहरूले आफ्नो कामको मूल्यांकन भएको, आफ्नो प्रतिनिधित्व भएको र समान रूपमा आफ्नो आवाज सुनिएको महसुस गर्न सक्छन्। 

५. दलित-बहुजन कर्मचारीहरूको नेतृत्व विकासलाई प्राथमिकतामा राख्न हालको अनुदानग्राही साझेदारहरूलाई चुनौती दिने र उनीहरुमा लगानी गर्ने । महत्त्वपूर्ण मानव अधिकारको कार्यको नेतृत्व गर्ने दक्षिण एशियाली समूहहरूको नेतृत्व पंक्तिमा दलित-बहुजन समुदायको प्रतिनिधित्व नभएको हुन सक्छ । आर्थिक लोकोपकारलाई ब्राह्मणवादबाट मुक्त गर्ने भनेको आफूलाई ब्राह्मणको रूपमा परिचित गराउने कर्मचारीलाई निष्कासन गर्ने वा लोकोपकार तथा गैसस क्षेत्रमा दलित-बहुजन कर्मचारीहरूको सांकेतिक (टोकन) प्रतिनिधित्व गराउने भनेको हैन । अनुदानग्राही साझेदारहरुका अभ्यासहरूलाई ब्राह्मणवादबाट मुक्त गर्न, आफ्ना कामहरूमा जातिय प्रथा विरोधी विश्लेषण गर्न, र दलित-बहुजन कर्मचारीहरूको वृत्ति विकास तथा नेतृत्वमा लगानी गर्न उनीहरूसँग काम गर्नुहोस्।

दक्षिण एशियाली समुदायहरु बस्ने संसारको जुनसुकै ठाउँमा पनि ब्राह्मणवाद तथा जातीय प्रथा कायम रहेको छ । त्यसैले ब्राह्मणवादबाट मुक्त गर्ने तथा जातीय श्रेष्ठताको सोचलाई भत्काउने कामलाई ‍उपनिवेश मुक्त तथा जातीय रूपमा न्यायपूर्ण समाज बनाउन अग्रसर भएकाहरूले संसारभरि नै अभियानका रूपमा चलाउनुपर्छ । दक्षिण एशियाली प्रतिष्ठानमा काम गर्ने कर्मचारीहरू तथा गैर दक्षिण एशियाली दाताहरू जो दक्षिण एशियाली समुदायहरूलाई सहयोग गर्छन् र उपनिवेश मुक्त गर्न प्रतिबद्ध छन् उनीहरू ब्राह्मणवादबाट मुक्त गर्ने अभियानलाई पनि आत्मसात् गर्नुपर्छ । चाहे आर्थिक, लैंगिक, जातीय वा वातावरणीय न्यायका विषयमा लडाइँ किन नहोऊन्, ती सबैमा सामाजिक न्यायका अभ्यासकर्ता, प्रतिष्ठान, अभियान, आख्यानहरूको काममा जाति-विरोधी विश्लेषण र दृष्टिकोणलाई समावेश गर्न जोड दिनुपर्छ । ब्राह्मणवादबाट मुक्ति बिना उपनिवेशवादभाट मुक्ति हुँदैन !

प्राची पाटणकर  फाउन्डेशन फर अ जस्ट सोसाइटीमा दक्षिण एशिया तथा दक्षिणपूर्वी एशियाको कार्यक्रम अधिकृत हुनुहुन्छ । उहाँ स्थानीय तथा वैश्विक, प्रहरी क्रूरता तथा लडाइँ, आप्रवासन तथा सैन्यकरण, जात तथा जाति, अश्वेत महिलाहरूको नारीवाद (वुमेन अफ कलर फेमिनिजम) तथा वैश्विक लैंगिक न्यायका विषयहरूलाई जोड्ने सामाजिक आन्दोलनहरूमा संलग्न कार्यकर्ता पनि हुनुहुन्छ ।

यस आलेख पहिलोपटक २०७८ मंसिर १९ मा एलायन्सले प्रकाशित गरेको थियो ।